Schedule 6
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्दा खुलाउनु पर्ने कुराहरू

(नियम ७ सँग सम्बन्धित)
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्दा खुलाउनु पर्ने कुराहरू

१. प्रतिवेदन तयार गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना ः

२. प्रस्तावको सारांश ः (प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावका सम्बन्धमा
देहायका कुराहरू उल्लेख गर्ने)
(क) प्रस्तावको उद्देश्य,
(ख) भू–उपयोगमा पर्ने असर,
(ग) वातावरणमा पर्ने प्रतिकूल प्रभाव, मानव जीवनमा पर्ने असर, जनसंख्याको चाप,
(घ) स्थानीय चिज वस्तुमा हुने क्षति,
(ङ) अन्य आवश्यक कुराहरू ।

३. प्रतिवेदनको सारांश ः वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदनमा उल्लेख भएका
कुराहरूको संक्षिप्त विवरण ।

४. प्रस्तावको विवरण ः
(क) प्रस्तावको प्रविधिक, भौगोलिक, वातावरणीय, आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौतिक
पक्ष उल्लेख गर्ने ।
(ख) प्रस्तावको कार्यान्वयनको प्रत्येक चरणमा गरिने कार्यहरूको उद्देश्य, कार्यनीति तथा
कार्यतालीका उल्लेख गर्ने ।

५. प्रस्तावको आधारभूत जानकारी ः प्रस्तावको प्रकृति अनुसार मूल्याङ्कन गरिने क्षेत्रको भू–भौतिक,
साँस्कृतिक, जैविक तथा सामाजिक, आर्थिक परिस्थितिका साथै प्रस्ताव सञ्चालन हुनु भन्दा
पहिला हुन सक्ने कुनै परिवर्तनका बारेमा आधारभूत जानकारी उल्लेख गर्ने । उपलब्ध हुन नसक्ने
कुनै तथ्यांक तथा अध्ययनले समेट्न नसक्ने विषय वस्तुहरू भए सो पनि उल्लेख गर्ने ।

६. वातावरणीय प्रभावको पहिचान ः प्रस्ताव कार्यान्वयन गर्दा वातावरणको देहायका क्षेत्रमा पर्न
सक्ने अनुकूल तथा प्रतिकूल प्रभावहरूको उल्लेख गर्ने तथा सम्भव भएसम्म समय र
कार्यतालीका अनुसार सम्भावित प्रभावहरूको अनुमान गर्ने र परिमाण तोक्ने ः–
(क) प्रस्तावको कार्यान्वयनबाट लाभदायी वा प्रतिकूल प्रभाव पर्ने समय र भौगोलिक क्षेत्र ।
(ख) प्रस्तावको कार्यान्वयनबाट निष्काशन हुने फोहोरमैला र प्रदूषणका प्रभावहरू ।
(ग) प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्ने प्रत्यक्ष, अप्रत्यक्ष र समग्र (कुमुलेटीभ)
प्रभावहरू ।

७. प्रस्तावको विकल्प विश्लेषण ः देहायको विषयमा विश्लेषण गर्नु पर्ने ः–
(क) प्रस्तावको डिजाइन, आयोजना स्थल, प्रविधि र सञ्चालन विधि, समय तालिका, प्रयोग हुने
कच्चा पदार्थ आदिको विषयमा ।
(ख) प्रस्ताव कार्यान्वयन गर्दा आवश्यक पर्ने स्थिर पूँजी र चालू पूँजी, स्थानीय अनुकूलता,
संस्थागत तालिम र सुपरिवेक्षणको आवश्यकताहरूका आधारमा तुलना गर्ने र सम्भव
भएसम्म प्रत्येक वैकल्पिक उपायको वातावरणीय लागत प्रतिफल तथा आर्थिक महत्वको
बारेमा ।
(ग) प्रस्ताव कार्यान्वयन गर्दा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रतिकूल असरहरू ।
(घ) प्रस्ताव कार्यान्वयन गर्दा प्रयोग हुने ऊर्जा र त्यस्तो ऊर्जा बचत गर्न अपनाइने उपायहरू ।
(ङ) प्रस्ताव कार्यान्वयन नगरेमा हुन सक्ने परिणामको विश्लेषण ।

८. वातावरणीय प्रभाव कम गर्ने उपायहरू ः
(क) वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने सबै क्रियाकलापहरूको लागि अपनाउनु पर्ने
व्यावहारिक सुरक्षात्मक उपायहरू उल्लेख गर्ने ।
(ख) सुरक्षात्मक उपायहरूद्वारा वातावरणमा पर्ने प्रभाव पूर्ण रूपमा हटाउन नसकिने भएमा
क्षतिपूर्तिका सम्बन्धमा उल्लेख गर्ने । अन्य सम्भावित विकल्पहरूसँग तुलना गरी सुरक्षाका
उपायहरू खर्चका दृष्टिकोणबाट कतिको प्रभावकारी छन् भन्ने कुराका विश्लेषण गर्ने ।
(ग) अन्य सम्भावित विकल्पहरूसँग तुलना गरी सुरक्षाका उपायहरू खर्चका दृष्टिकोणबाट
कतिको प्रभाव परेका छन् भन्ने कुरामा विश्लेषण गर्ने ।

९. वातावरणीय व्यवस्थापन योजनाका सम्बन्धमा उल्लेख गर्ने ।

१०. नीतिगत तथा कानुनी व्यवस्थाको समीक्षा ः प्रस्तावको प्रकृति र स्तरका आधारमा सम्बन्धित
नीति तथा ऐन नियमहरूको समीक्षा गर्ने । कुनै नीति तथा कानुनी व्यवस्थामा सुधार गर्नु पर्ने
भए सो उल्लेख गर्ने ।

११. प्रस्तावको अनुगमन ः प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्ने प्रभावका सम्बन्धमा गरिने
अनुगमनको तरिका, अनुगमन गर्ने निकाय र समय–तालिका, अनुगमन तथा मूल्याङ्कनका सूचक
आदि उल्लेख गर्ने ।

१२. वातावरणीय परीक्षणको ढाँचा तथा त्यसको सार्थकताका बारेमा उल्लेख गर्ने ।

१३. सन्दर्भ सामग्रीहरू ः प्रतिवेदन तयार गर्दा उद्धृत गरिएका सन्दर्भहरूको प्रकाशन सम्बन्धी सूची
निम्नलिखत आधारमा बनाउने ः–
(क) लेखक,
(ख) प्रकाशित भएको मिति,
(ग) उद्धृत गरिएका सामग्रीको शीर्षक,
(घ) उद्धृत गरिएका प्रकाशन वा पत्रिकाको नाम,
(ङ) वर्ष, खण्ड, अंक आदि (भएको खण्डमा),
(च) पृष्ठ

१४. परिशिष्टका देहायका कुराहरू समावेश गर्ने ः
(क) भू–बनोट, भौगोलिक स्थिति, भू–उपयोग, भू–क्षमता र अध्ययनसँग सम्बन्धित नक्साहरू,
(ख) सम्भव भएसम्म प्रस्ताव कार्यान्वयन स्थल तथा त्यस वरिपरिका क्षेत्रहरूको हवाई फोटोहरू,
(ग) स्थलगत अनुसन्धानका लागि प्रयोग गरिएका प्रश्नावली वा विषयवस्तुको सूची,
(घ) चार्ट तथा चित्रहरू जस्ता वातावरणीय प्रभाव मूल्याङ्कनसँग सम्बन्धित कुराहरू,
(ङ) जलवायु तथा हावापानी सम्बन्धी तथ्यांक (समयको आधारमा क्रमबद्ध गरी),
(च) प्रस्ताव कार्यान्वयन स्थलका वनस्पति तथा जीवजन्तुको तथ्यांक,
(छ) भौगर्भिक तथा जोखिम मूल्याङ्कन तथ्यांक (प्राप्त गर्न सकिने भएमा),
(ज) उपलब्ध हुन सक्ने भएमा आयोजना सञ्चालन गर्नु अघि र पछिका हावा र पानीको गुणस्तर
तथा ध्वनीको स्तर सम्बन्धी जानकारी,
(झ)वातावरण प्रभाव मूल्याङ्कनसँग सान्दर्भिक म्याट्रिक्स वा क्रमबद्ध रेखाचित्र,
(ञ) नक्शा, स्लाइड, रेकर्डहरू तथा भिडियो फिल्म जस्ता सहायक श्रव्य दृश्य सामग्री,
(ट) बाली लगाउने तरिका, पशुपालन, माटोको गुण, रासायनिक मल प्रयोग गर्ने मात्रा सम्बन्धी
तथ्यांक,
(ठ) अध्ययन प्रतिवेदन तयार गर्दा प्रयोग गरिएका लिखित सामग्रीहरूको सन्दर्भ सूची,
(ड) आमन्त्रित व्यक्तिहरू तथा सहभागीहरूको सूची तथा सम्बन्धित संस्थाहरू बीचको छलफल,
भेला र बैठकको रेकर्डहरू तथा छलफल र अनुगमनको छोटो जानकारी,
(ढ) वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीमा संलग्न अध्ययन टोलीको व्यक्ति तथा
संस्थाहरूको नामावली,
(ण) अध्ययनको क्रममा सम्पर्क गरिएका व्यक्ति तथा संस्थाहरूको नाम, ठेगाना र टेलिफोन
नम्बर ।